दफा ५७१
हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार भएको मानिने

(१) कुनै व्यक्तिले करारको कुनै पक्षको निर्देशनमा काम गर्दा त्यस्तो पक्ष वा तेस्रो पक्षको काम कारबाहीबाट निजलाई वा त्यस्तो पक्ष वा तेस्रो पक्षलाई निजको काम कारबाहीको परिणामबाट हुन सक्ने हानि, नोक्सानी आफूले व्यहोर्ने गरी करार भएकोमा हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै करार भएकोमा त्यस्तो करारको अधीनमा रही त्यस्तो व्यक्तिले देहायका कुनै वा सबै रकम क्षतिपूर्ति वापत भरार्ई लिन सक्नेछ :
(क) करारमा उल्लेख भए बमोजिमको हर्जाना रकम,
(ख) तेस्रो पक्षलाई हानि, नोक्सानी परेको भए त्यस वापत तिर्नु व्यहोर्नु पर्ने रकम,
(ग) हर्जाना सम्बन्धी करारका सम्बन्धमा निजले दायर गरेको वा प्रतिरक्षा गरेको भए त्यस्तो मुद्दामा लागेको खर्चको रकम,
(घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको रकम नदिएको कारणबाट मुद्दा मामिला गर्नु परेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकम ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिले अर्को पक्षको निर्देशनमा काम गर्दा जानीजानी हानि, नोक्सानी पु¥याउने बदनियत वा लापरबाहीपूर्वक काम गरेको कारणबाट त्यस्तो पक्ष वा तेस्रो पक्षलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी वापत त्यस्तो काम गर्ने व्यक्ति नै जिम्मेवार हुनेछ ।